एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलको दोस्रो साता आज (शनिबार) विभिन्न ६ खेलहरु हुँदैछ । गत साता सुरु भएको नयाँ सिजन अन्तर्गत शनिबार चेल्सी, आर्सनल, टोटेनहम, एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्दै छन् ।
शनिबार हुने खेलमध्ये सबैको पर्खाइको खेल भने चेल्सी र आर्सनलबीचको भिडन्त हुनेछ । चेल्सी र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ सुरु हुनेछ । खेल चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।
सिजनको पहिलो खेलमा जित निकालेको चेल्सी लगातार दोस्रो जितको खोजीमा रहनेछ । यता, आर्सनल भने पहिलो जित निकाल्न चाहन्छ । सिजनको पहिलो खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ३ – ० ले हराएको थियो । आर्सनल साबिकको बिजेता म्यानचेस्टर सिटीसंग २ – ० ले हारेको थियो ।
यस्तै शनिबार हुने पहिलो खेलमा कार्डिफ सिटी र न्युकासल युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । कार्डिफको मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका ५:१५ मा सुरु हुनेछ ।
त्यस्तै नेपाली समय अनुसार बेलुका ७:४५ बजे चार खेल हुनेछ । ७:४५ बजे हुने खेलमा एभर्टनले साउथह्याम्पटन, लेष्टर सिटीले वुल्भ्स, टोटेनहमले फुलहम र वेष्ट ह्याम युनाइटेडले बोर्नेमाउथसंग प्रतिस्पर्धा गर्नेछन् ।
प्रिमियर लिगको पहिलो चरणको खेल सकिदा लिभरपुल शीर्ष स्थानमा रहेको छ । चेल्सी दोस्रो र बोर्नेमाउथ तेस्रो स्थानमा छ । यस्तै क्रिष्टल प्यालेस, म्यानचेस्टर सिटी, वाट्फोर्ड, म्यानचेस्टर युनाइटेड र टोटेनहमले सिजनको पहिलो खेलमा ३ अंक जोडिसकेका छन् ।