काठमाडौं । भुटानमा जारी साफ यू-१५ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज (शनिबार) घरेलु टोलीको सामना गर्दै छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भुटानबीचको खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ । त्यसपछि बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रदा नेपाल कम्तिमा कास्य जित्न चाहन्छ । यता, भुटान पनि नेपाललाई हराएर तेस्रो स्थान सुरक्षित बनाउन चाहन्छ । यस्तोमा दुई टोलीको खेल रोमान्चक हुने सम्भावना रहेको छ ।
बिहिबार भएको सेमिफाइनलमा भारतसंग २ - १ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । भारतलाई कडा टक्कर दिएपनि नेपाल पराजित हुन पुगेको थियो । भारतलाई जित दिलाउन ल्याण्डा कोम र क्रिटिना देवीले समान १/१ गोल गरिन् । नेपालकी रजनी थोकरले एक गोल फर्काइन् ।
यस्तै भुटान साबिकको बिजेता बंगलादेशसंग ५ - ० ले पराजित भएको थियो ।
प्रतियोगितामा फाइनल पुगेको दुई टोली बंगलादेश र भारत अपराजित रहेका छन् । भारत समूह ए को बिजेता र बंगलादेश समूह बी को बिजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।