एजेन्सी । इटालियन क्लब इन्टर मिलानले आफ्ना खेलाडीलाई अवैधानिक रुपमा भित्र्याउन खोजेको भन्दै स्पेनिस क्लब रियल मड्रिडले फिफामा उजुरी दिएको छ ।
मिलानले क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई नियम विपरित अवैधानिक तरिकाले क्लबमा अनुबन्ध गर्न खोजेको भन्दै रियलले फिफामा उजुरी हालेको हो । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले मिलानविरुद्ध रियलले उजुरी हालेको पुष्टि गरेको छ ।
इटालियन ट्रान्सफर विन्डो गत शुक्रबारबाट बन्द भएको थियो । र, ट्रान्सफर विन्डोमा मोड्रिच भित्राउन मिलान असफल भएको थियो । तर, मिलानले मोड्रिचलाई अनुबन्ध गर्न प्रयास जारी राखेको भन्दै रियलले फिफामा उजुरी दिएको हो ।
रुसमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनल तय गराउन मोड्रिचले महत्वपूर्ण भूमिका खेलेका थिए । तर, क्रोएसिया फाइनलमा फ्रान्ससंग ४ – २ ले पराजित भएको थियो । विश्वकपमा निकै उच्च प्रदर्शन गरेपछि मिलानले मोड्रिच भित्राउन खोजेको हो ।
३२ बर्षिय मोड्रिच सन् २०१२ मा इन्ग्लिश क्लब टोटेनहमबाट रियल आएका थिए । रियलबाट उनले एक पटक ला लिगा र चार पटक च्याम्पियन्स लिग जितेका छन् ।