काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्ललाई सिटिजन्स बैंकले सद्भावना दुत (ब्राण्ड एम्बेसडर) नियुक्त गरेको छ ।
नेपाली खेलकुदमा लामो समयबाट जोडिदै आएको सिटिजन्स बैंकले शुक्रबार उपकप्तान तथा ओपनर ब्याट्सम्यान ज्ञानेन्द्रलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
ज्ञानेन्द्रलाई बैंकले एक बर्षको लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले ज्ञानेन्द्रलाई क्रिकेट ब्याट हस्तान्तरण गर्दै ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । ब्राण्ड एम्बेसडरबापतको रकम भने खुलाईएको छैन ।
ब्राण्ड एम्बेसडर भएबापत ज्ञानेन्द्रले बैंकको विभिन्न कार्यहरुमा सहभागिता जनाउने छन् । बैंकको ब्राण्ड एम्बेसडर चुनिएपनि ज्ञानेन्द्रले बैंकहरुले खेलाडीलाई लगानी गर्नु खुसीको कुरा रहेको र यो कार्यले खेलाडीको मनोबल उच्च हुने बताए ।
ज्ञानेन्द्रले भने, 'सर्वप्रथम मलाई ब्राण्ड एम्बेसडर बनाउन भएकोमा बैंकलाई धेरै धारी धन्यवाद दिन चाहन्छु । बैंकले हात अगाडी बढाउदा राहत महशुस गरेको छु । क्रिकेट र खेल विकासको लागि यसरी लगानी गर्न जरुरी छ । यो कार्यले खेलाडीलाई बाच्ने आधार हुन्छ । खेलाडीलाई प्रोत्साहन हुन्छ ।'
यस्तै बैंकका उप प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकले खेल जगतमा लगानी गर्दै आइरहेको बताउदै ज्ञानेन्द्रलाई ब्राण्ड एम्बेसडर बनाउन पाएको खुसी व्यक्त गरे । यस्तै उनले खेल विकासको लागि बैंक सधै लागीपरेकोर बैंकले धेरै खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए ।
बैंकका सहायक सीईओ बोध राज देवकोटाले ब्राण्ड एम्बेसडर बन्न स्वीकार गरेकोमा ज्ञानेन्द्रलाई धन्यवाद दिए ।
बैंकले 'मेरो सिटिजन्स बचत खाता' नामक योजना सार्वजनिक गर्दै उपकप्तान ज्ञानेन्द्रलाई ब्राण्ड एम्बेसडर चयन गरेको हो । बैंकले 'मेरो सिटिजन्स बचत खाता' अन्तर्गत १०० रुपैयामा खाता खोल्न सक्ने जनाएको छ । बैंकले देशभरका ७९ वटा शाखाबाट खाता खोल्न सक्ने जनाएको छ ।
यसअघि बैंकले ब्याटमिन्टनका राष्ट्रिय खेलाडी नङसल देवी तामाङलाई स्टाफको रुपमा बैंकमा अनुबन्ध गरेको थियो । यस्तै बैंकले गल्फ,टेनिस, फुटसल, क्रिकेट लगायतका ठुला प्रतियोगितामा प्रायोजन गर्दै आइरहेको छ ।