काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा उपाधि दाबेदार नेपालले शनिबार खराब सुरुवात गरेको छ ।
उपाधि जित्ने लक्ष्य सहित थाइल्याण्ड गएको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भयो ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।
मलेसियाले दिएको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८/३८ रन बनाउँदा पवन सर्राफले १९ रन बनाए । बाँकी ८ खेलाडीले संयुक्त रुपमा मात्र २८ रन बनाए ।
खराब सुरुवात गरेको नेपालका लागि ज्ञानेन्द्र र ऐरीले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । तर, पछिल्ला क्रमका ब्याट्सम्यान चलन नसक्दा नेपालले लक्ष्य पुरा गर्न सकेन ।
नेपालको इनिङ्समा कुनै पनि खेलाडी आक्रामक देखिएनन् । जुन हारको मुख्य कारण बन्यो । नेपाल आफ्नो ब्याटिङमा ७ चौका र २ छक्का प्रहार गयो । तर, नेपालका ९ खेलाडी क्याच आउट भए ।
ओपनिङमा आएका युवा खेलाडी कुशल मल्ल मात्र २ बल खेल्दा शुन्य रनमा आउट भए । यस्तै भरपर्दा ब्याट्सम्यान पारस खड्का समेत व्यक्तिगत ९ रनमा चौथो ओभरको पहिलो बलमा पेभिलियन फर्किंदा नेपाल दबाबमा आएको थियो ।
त्यसपछी कप्तान र उपकप्तानले नेपालको इनिङ्स उकास्ने प्रयास गरे । १३ औं ओभरमा ८९ रन बनाएर ३ विकेट गुमाएको नेपालले थप ४३ रन बनाउँदा अलआउट हुन पुग्यो ।
ज्ञानेन्द्र र दिपेन्द्र आउट भएपछि क्रिजमा आएका ब्याट्सम्यान मध्ये पवनले बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । यस्तै पवनपछि आएका आरिफ शेखले एक चौका प्रहार गर्नु बाहेक अन्य ५ खेलाडीले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । उनीहरुले दोहोरो अंकको साझेदारी समेत गर्न सकेनन् ।
मलेसियासँगको यो हार नेपालको लागि एसिया कप छनोटको होडमा धक्का लाग्न सक्छ । ५ राष्ट्र सहभागी इस्टर्न रिजन प्रतियोगिता एसिया कपको लागि छनोट हुने पहिलो चरण हो ।
यस प्रतियोगिताबाट फाइनल पुग्ने राष्ट्र एसिया कप छनोटका लागि स्थान बनाउने छन् । नेपालले अब दोस्रो खेल आइतबार हङकङसँग खेल्ने छ । अब नेपाललाई फाइनल पुग्न अब बाँकी खेल जिते पर्ने दबाब हुनेछ ।