काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको उपाधि जित्ने लक्ष्य लिएको नेपालले खराब सुरुवात गरेको छ ।
थाइल्याण्डको बैंककमा शनिबार भएको पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित हुँदै नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।
टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८/३८ रन बनाए । खराब सुरुवात गरेको नेपालका लागि दुवैले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । तर, पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले लक्ष्य पुरा गर्न सकेन ।
यस्तै नेपालका पवन सर्राफले १९ रन बनाए । ओपनर कुशल मल्ल सुन्य रनमा आउट हुँदा पारस खड्का ९ रन बनाएर पेभेलियन फर्किए ।
विनोद भण्डारीले ७ रन जोड्दा आरिफ शेख पनि ५ रनमा आउट भए । करण केसी २, सन्दीप लामिछाने १ रनमा आउट हुँदा सुशन भारी सुन्य रनमा आउट भए ।
मलेसियाका शार्भिन मुनिन्डेले ४ विकेट लिए । खिजार हायत, पवनदिप जगजित सिंह र इजाद इद्रुसले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । अमिनुदुन राम्लेले २९ रन जोडे ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । उनले टी-ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन् ।
यस्तै अविनाश बोहराले २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो ।
अब नेपालले आइतबार हङकङसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत नै शनिबार सिंगापुरले थाइल्याण्डलाई हराएर विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङ रहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।