एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
फिफाले बिहिबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ६१ औं स्थानमा यथावत रहन सफल भएको हो । नेपाल गत महिना पनि १ सय ६१ औं स्थानमा रहेको थियो ।
फिफाले निकालेको नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । एक स्थान माथि उक्लेको भारत ९६ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १५० औं स्थानमा रहेको छ ।
नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८३ औं, बंगलादेश १९४ औं, श्रीलंका २०० औं र पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।
नयाँ वरीयताको शीर्ष स्थानमा फ्रान्स रहेको छ । विश्वकप बिजेता फ्रान्स ६ स्थान माथि उक्लदै शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानमा बेल्जियम, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा उरुग्वे रहेको छ ।
नयाँ वरीयतामा विश्वकप उपविजेता क्रोएसिया ४ स्थान माथि उक्लिएको हो । यस्तै रुस सर्वाधिक बढी वरीयता सुधार गर्ने राष्ट्र बनेको छ । घरेलु भूमिमा सम्पन्न विश्वकपमा तहल्का मच्याएको रुस २१ स्थान माथि उक्लदै ४९ औं स्थानमा पुगेको छ ।
रुस विश्वकपपछि इंग्ल्यान्ड छैटौं स्थानमा उक्लिदा तीन स्थान तल झर्दै पोर्चुगल सातौं स्थानमा रहेको छ । यस्तै स्विजरल्याण्ड आठौं, स्पेन नवौ र डेनमार्क दशौं स्थानमा छ । ६ स्थान तल झरेको अर्जेन्टिना ११ औं स्थानमा रहेको छ ।