एजेन्सी । म्यानचेस्टर युनाईटेडको कप्तान चुनिएपनि मिडफिल्डर पाउल पोग्बा बार्सिलोना जान चाहिरहेको खुलासा भएको छ ।
प्रिमियर लिगको ग्रीष्मकालीन खेलाडी किनबेच (ट्रान्सफर विन्डो) मा बार्सिलोना जान असफल भएका पोग्बाको मनमा अझै बार्सिलोना रहेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
लेष्टर सिटीविरुद्धको सिजनको पहिलो खेलमा युनाइटेडले पोग्बालाई कप्तानी पद दिएको थियो । सिजनको पहिलो खेलमा पोग्बाले पेनाल्टीमा गोल समेत गरेका थिए । तर, पोग्बा यसै सिजनको ग्रीष्मकालीन समयमा स्पेनिस च्याम्पियन बार्सिलोना जान खोजिरहेको डेलीमेलले जनाएको छ ।
पोग्बाले बार्सिलोना जान नपाएको निराशा समेत पोखिसकेका छन् । पोग्बाले भनेका छन्, ‘यदी तिमी खुसी छैनौ भने तिमी हाम्रो उत्कृष्ट दिन सक्दैनौ ।’ उनले थपे, ‘यदी मैले सत्य भावना बोले भने मलाई जरिवाना समेत हुनसक्छ ।’
२५ बर्षिय पोग्बा क्याटलान क्लब जान चाहेपनि युनाइटेड भने उनलाई बेच्न तयार नभएको डेलीमेलले जनाएको छ । यो सिजनको ट्रान्सफर विन्डोमा मिडफिल्डर भित्र्याउन असफल भएपछि युनाइटेड पोग्बालाई बेच्न चाहिरहेको छैन ।
सन् २०१६ मा पोग्बा विश्व कीर्तिमानी मुल्यमा इटालिन क्लब युभेन्ट्सबाट प्रिमियर लिग क्लब युनाइटेड आएका थिए । पोग्बालाई भित्राउन युनाइटेडले ८९ मिलियन पाउण्ड खर्चेको थियो ।
फ्रान्सले गत महिना रुसमा सम्पन्न विश्वकप जित्दा पोग्बा मुख्य खेलाडी थिए । विश्वकपको प्रदर्शनपछि बार्सिलोनाले पोग्बालाई नजर लगाएको थियो ।