काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा दोस्रो हार बेहोरेको छ ।
बिहिबार बिहान भएको खेलमा सन्दीपको टिम प्याट्रियट्सलाई जमैका तल्वाहासले ४७ रनले हराएको हो । प्याट्रियट्सको यो तेस्रो खेलमा दोस्रो हार हो । यसअघि पहिलो खेलमा हार बेहोरेको प्याट्रियट्सले दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्सलाई ४२ रनले पराजित गरेको थियो ।
जमैकाले दिएको १७९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्याट्रियट्सले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । प्याट्रियट्सका कप्तान क्रिस गेलले २४ तथा मोहमद महमुदउल्लाहले २२ रन जोडे । सन्दीप लामिछाने २ रनमा अविजित रहे । जमैकाका इमाद विसम, क्रिश्मार सन्टोकी र एडम जाम्पाले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १७८ रन जोडेको थियो । जमैकाका लागि रोस टेलरले अविजित ५१ रन जोड्दा केन्नर लेविस ४९ रन जोडे । यस्तै ग्लेन फिलिप्सले ४१ रन बनाए ।
प्याट्रियट्सका सन्दीपले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा १० रन खर्चेपनि दोस्रो ओभरमा आठ रन खर्चेर २ विकेट लिए । उनले लेविस र म्याकार्थेलाई आउट गरे । सीपीएल क्रिकेटमा सन्दीपको यो पाँचौ विकेट हो ।
यो हारपछि सीपीएल क्रिकेटमा सन्दीपको टिम प्याट्रियट्स ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ । जितपछि जमैका ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।