काठमाडौं । कुनैपनि खेलको बृहत विकासको लागि घरेलु संरचना बलियो हुनुपर्छ । घरेलु संरचना बलियो रहेको खेलको सफलता समेत त्यहीँ किसिमको हुने गर्दछ ।
नेपाली क्रिकेटको वृहत विकासको लागि नेपाल क्रिकेट संघ (क्यान) यतिबेला घरेलु संरचना बलियो बनाउन लागिपरेको छ ।
नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान तल्लो तहबाट क्रिकेट विकास गर्नका लागि जुटेको छ । ग्रासरुट तहबाट क्रिकेट बलियो बनाउन क्यानले विभिन्न प्रतियोगिताको ढाँचा समेत तयार बनाएको छ ।
क्यानले विभिन्न प्रतियोगिताको संरचनासहित प्रतियोगिता आयोजनाको मितिसहितको ढाँचा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा बुझाईसकेको छ ।
'क्यानले आयोजना गर्न लागेको यी प्रतियोगिताको मिति राखेपमा प्रस्ताव गरेका छौं,' क्यानका सचिव अशोकनाथ प्याकुरेलले खेलपाटीसँग भने, 'जिल्लाबाट छनोट गरेर खेलाडी ल्याउनु पर्ने भएकाले सुरुमा मिति र खेलको ढाँचाको प्रस्ताव गरेका हौँ ।'
पछिल्लो ६ वर्षयता क्यानले गर्ने घरेलु प्रतियोगिता ठप्प रहेको छ । पछिल्लो पटक क्यानले सन् २०१४ मा आयोजना गरेको प्रतियोगितामा ९ क्षेत्रले खेलेका थिए । त्यसपछि क्यान विवाद र आईसीसीको निलम्बनको कारण घरेलु प्रतियोगिता ठप्प भएको थियो ।
निलम्बन फुकुवा र नयाँ नेतृत्व आएसँगै क्यानले पुन: घरेलु प्रतियोगिता ब्युताउँन लागेको हो ।
क्यानले प्रस्तुत गरेको घरेलु क्रिकेटको संरचनामा विद्यालय क्रिकेट देखि सिनियर प्रतियोगितासम्म रहेको छ । उक्त ढाँचालाई राखेपले स्वीकृति दिएपछि क्यानले प्रतियोगिताको प्रक्रिया अघि बढाउने छ ।
क्यानले आउने तीन महिनाभित्र ५ घरेलु प्रतियोगिता आयोजना गर्नेसहित खाका राखेपमा पठाएको हो । जसमा महिला र पुरुषको प्रधानमन्त्री कप (पीएम कप), छात्र र छात्रा दुवैको विद्यालय स्तरीय प्रतियोगिता र उमेर समूहमा यू-१९ को राष्ट्रिय प्रतियोगिता रहेको छ ।
महिलातर्फको पीएम कप टी-ट्वान्टी फर्म्याटको हुने छ भने पुरुषको एकदिवसीय प्रतियोगिता हुनेछ । यस्तै विद्यालय स्तरीय प्रतियोगिता छात्रा र छात्र दुवैको टी-ट्वान्टीमा हुनेछ । यू-१९ पुरुष क्रिकेट भने एकदिवसीय फर्म्याटको हुनेछ ।
राखेपबाट स्वीकृति पाएपछि क्यानले चैतबाट प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । राखेपबाट स्वीकृति प्राप्त भएपछि क्यानले सबै जिल्लालाई पत्राचार गर्ने जनाएको छ ।
सबै प्रतियोगितामा खेलाडीहरुले जिल्लाबाट छनोट हुँदै प्रादेशिक छनोट पार गरेर मात्र राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छन् ।
क्यानले महिला पीएम कपको लागि २०७६ चैत २६ देखि २०७७ वैशाख ४ गते सम्मको मिति छुट्टाएको छ । यस्तै पुरुष पीएम कप २०७७ वैशाख २० देखि जेष्ठ १५ सम्म हुने जनाएको छ ।
छात्रा र छात्र दुवैको विद्यालय स्तरीय प्रतियोगिता क्रिकेट वैशाख २८ देखि जेष्ठ १० र पुरुष यू-१९ क्रिकेट जेष्ठ १८ देखि ३० सम्म संचालन गर्ने तयारी क्यानले गरेको छ ।
प्रतियोगिताको लागि खेल स्थल भने क्यानले छनोट गरिसकेको छैन । तर, पुरुष पीएम कप काठमाडौँमा गरिने पक्का जस्तै छ । महिलाको भने काठमाडौँ बाहिर संचालन हुने बलियो सम्भाबना रहेको सचिव प्याकुरेलले जानकारी गराए ।