काठमाडौं । दोस्रो संस्करणको हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलको पहिलो दिन ग्रेट हिमालय क्रिकेट एकेडेमीले अग्रता बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार ग्रेट हिमालयले नेक्सस क्रिकेट एकेडेमीविरुद्ध ७१ रनको अग्रता बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेक्सस पहिलो इनिङ्समा अलआउट हुँदै ४० रनमा समेटियो । उसका क्रिश कार्कीले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन ।
ग्रेट हिमालयका मोहम्मद हुसेन एक्लैले ५ विकेट लिएका थिए । उनले ११ ओभरमा ५ मेडनसहित मात्र १५ रन खर्चिए । यस्तै रासिद खान र सोनु देवकोटाले समान २/२ विकेट लिए ।
नेक्ससलाई सस्तैमा समेटेर पहिलो इनिङ्स थालेको ग्रेट हिमालयले ८ विकेट गुमाएर २ सय २० रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
ग्रेट हिमालयका लागि कप्तान आसिफ शेखले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रशान्त सिंहले ५० रनमा अविजित रहेका छन् ।
त्यसबाहेक अशोक पौडेलले २७ तथा आयुशमान बमले २६ रन बनाए । नेक्ससका नरेन साउदले ६ विकेट लिए ।
पहिलो इनिङ्समा १ सय ८० रनले पछि परेको नेक्ससले दोस्रो इनिङ्समा ८ विकेट गुमाएर १ सय ९ रन बनाएर खेलिरहेको छ ।
दोस्रो इनिङ्समा नेक्ससका महेश रानाले २३ रन जोड्दा विशाल विक्रम केसीले १८ रनको योगदान गरे ।
ग्रेट हिमालयका अरियो पौडेलले ७ विकेट लिए ।