एजेन्सी । विश्वकपमा छनोट भईसकेको टिम ओमान एसिया कप क्रिकेटमा पुग्न असफल भएको छ ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप खेल्ने ओमान एसीसी वेष्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा पुग्न असफल भएसँगै एसिया कपमा पुग्न नसकेको हो ।
एसिया कप छनोटको पहिलो चरणको प्रतियोगिताको रुपमा रहेको वेष्टर्न रिजनको समूह 'ए' मा रहेको ओमान समूहको तेस्रो भयो ।
ओमान नेट रन रेटको आधारमा कतार भन्दा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको हो । यस समूहबाट कतार र बहराईन सेमिफाइनलमा पुग्यो ।
तीन खेलमा ओमानले २ जित र १ हार व्यहोर्दा ४ अंक जोड्यो । समान खेलमा समान अंक रहे पनि कतार र बहराइनले सेमिफाइनलमा स्थान बनाएका छन् ।
ओमानले बहराइन र माल्दिभ्समाथि जित हात पार्दा कतारसंग पराजित भएको थियो । समूह 'बी' बाट युएई र कुवेतले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
फाइनल पुग्ने राष्ट्रले एसिया कप छनोटमा सहभागिता जनाउन पाउने छन् ।
ओमान टी ट्वान्टी विश्वकपमा सहभागी जनाउने एसियाको एक्लो एसोसियट राष्ट्र समेत हो ।