काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आफ्नो उच्च प्रदर्शन जारी राखेका छन् ।
सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलिरहेका सन्दीपले तेस्रो खेलमा पनि २ विकेट लिएका छन् । जमैका तल्वाहासविरुद्ध बिहिबार बिहान भएको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिएका छन् । सन्दीपले पहिलो ओभरमा १० रन खर्चेपनि दोस्रो ओभरमा आठ रन खर्चेर २ विकेट लिए । उनले लुइस र म्याकार्थेलाई आउट गरे ।
सीपीएल क्रिकेटमा सन्दीपको यो पाँचौ विकेट हो । यसअघिको खेलमा सन्दीपले ३ ओभर बलिङ्ग गर्दै १७ रन खर्चिएर एक विकेट लिएका थिए । त्यसअघि सन्दीपले डेब्यु खेलमा ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएका थिए ।
जमैकाविरुद्ध सन्दीपले २ विकेट लिएपनि प्याट्रियट्सले खेल गुमाएको छ । सन्दीपको टिम प्याट्रियट्सलाई जमैकाले ४७ रनले हराएको हो । प्याट्रियट्सको यो दोस्रो हार हो ।
इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्सबाट सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए ।
आईपीएल अक्सनमा २० हजार र क्यानाडा लिगमा ४० हजार डलरमा उनको भाग लागेको थियो । सन्दीपलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।
सन्दीपले नेपालबाट २२ लिस्ट ए खेलमा ४३ विकेट लिइसकेका छन् ।