एजेन्सी । नाइजेरियाका फरवार्ड भिक्टोर मोसेसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । मोसेसले बुधबार २७ बर्षको उमेरमा राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका हुन् ।
इन्ग्लिश क्लब चेल्सीका फरवार्ड मोसेसले नाइजेरियाको राष्ट्रिय टोलीबाट ३७ खेल खेल्दै १२ गोल गरेका छन् । तर, मोसेसले नाइजेरियालाई गत महिना सम्पन्न रुस विश्वकपको अन्तिम १६ मा पुर्राउन सकेनन् । रुस विश्वकपमा नाइजेरिया समूह चरणबाट बाहिरिएको थियो ।
सन्यास घोषणा गर्दै मोसेसले भनेका छन्, 'म अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गर्न चाहन्छु । सुपर इगलको जर्सी पहिरिएर मैले केहि उत्कृष्ट क्षणहरुको अनुभव गर्ने मौका पाए । यो सम्झना मेरो जीवनभर रहनेछ ।'
यस्तै मोसेसले क्लब फुटबलको करियरलाई थप बलियो बनाउन सन्यास घोषणा गरेको बताएका छन् । उनले अब पूर्ण रुपमा क्लब फुटबलमा केन्द्रित हुने बताए ।
'यो समय सन्यास लिने उपयुक्त समय रहेको मैल अनुभव गरे । र, अब म पूर्ण रुपमा क्लब करियरमा केन्द्रित हुनेछु । सुपर इगल टोलीमा युवा खेलाडीहरु आएका छन् । उनीहरुलाई मौका दिनुपर्छ । अबको समय उनीहरुको हो,' मोसेसले भने ।