चितवन । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभाले संघको विधान संशोधन गरेको छ । चितवनको सौराहामा बसेको संघको १७ औ विशेष साधारण सभाले संघीय संरचना अनुसार प्रदेश कमिटि गठनको प्रस्ताव पारित गरेको हो ।
सभाबाट पारित संशोधित विधान अनुसार एन्फाको प्रदेश कमिटि १७ सदस्यीय बन्नेछ । कमिटिमा अध्यक्ष एक, उपाध्यक्ष ३ र ११ जना सदस्य रहनेछन् । महासचिव र कोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख गरेको छ ।
साधारण सभाले खेलकुद ऐनसंग बाँझिने संघको बैधानिक व्यवस्था स्वत खारेज हुने निर्णय समेत गरेको प्रवक्ता किरण राईले बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद राखेपले खेलकुद ऐन परिमार्जनको क्रममा रहेको भन्दै संघको विधान संशोधन नगर्न एन्फालाई आग्रह गरेको थियो ।
मताधिकारमा वृद्धि
एन्फाको साधारण सभाले जिल्ला तथा क्लबलाई दिने मताधिकारमा वृद्धि गर्ने निर्णय गरेको छ । सभाले प्रदेश ५ मा एक तथा प्रदेश ६ र ७ मा दुई जिल्ला थप गर्ने निर्णय गर्दै मताधिकार दिने निर्णय गरेको हो । एन्फा निर्वाचनको मताधिकार जिल्ला र क्लबमै रहनेछ ।
साधारण सभाले सी डिभिजनका क्लबलाई ४, बी डिभिजनको क्लबलाई २ तथा राष्ट्रिय लिग खेल्ने प्रदेशका ४ क्लबलाई समेत मताधिकार दिएको छ ।
यसअघि निर्वाचनकालागि ७७ मत रहदै आएको थियो । १५ मत थप भएसंगै एन्फाको मताधिकार संख्या ९२ पुगेको छ ।