काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा चितवनको सौराहमा सुरु भएको छ ।
विधान संशोधन लगायतका एजेण्डा पारित गर्न संघले विशेष साधारण सभा बैठकको आयोजना गरेको हो ।
कर्मचारी, आर्थिक तथा प्रशासनिक नियमावली नहुदाँ संघलाई दैनिक गतिविधि सञ्चालन गर्न समेत समस्या परेको भन्दै एन्फाले विशेष साधारण सभा बैठकको आह्वान गरेको थियो ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी उपाध्यायले बुधबार एक कार्यक्रमकाबीच एन्फा साधारण सभाको उद्घाटन गरेका थिए ।
उद्घाटन शत्रलाई सम्बोधन गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले संघलाई विधि विधान अनुसार चलाउन विशेष साधारण सभाको आयोजना गर्नु परेको जिकिर गरेका थिए ।
‘एन्फालाई विधि, विधान अनुसार पारदर्शी तरिकाले चलाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’ उनले भने, ‘कर्मचारी नियमावली, संघ सञ्चालनको नियमावली तथा आर्थिक नियमावली नहुदाँ कार्यसञ्चालनमा समस्या भएकाले त्यसको संशोधन र परिमार्जनकालागि साधारण सभाको आयोजना गरिएको हो ।’
यस्तै साधारण सभा बैठकमा शेर्पाले साउथ वेस्ट एसियन फुटबल फेडेरेसन स्वाफले नेपाली फुटबललाई साढे ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको समेत जानकारी दिएका छन् ।
स्वाफ कार्यसमिति सदस्यमा निर्वाचित समेत भएका शेर्पाले फेडेरेसनको पहिलो बैठकले नेपाललाई करिब साढे ५ करोड रुपैयाँ दिने निर्णय गरिएको बताए ।
नेपाल दक्षिण एसियाली महासंघमा मात्र आबद्ध हुदाँ धेरै अवसर पाउन नसकेको बताउदै उनले स्वाफमा नेपालको सहभागिताले अझ पनि अवसर र सहयोग नेपाली फुटबलले प्राप्त गर्ने उल्लेख गरे ।