काठमाडौं । कामना सेवा विकास बैंकले छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा भारतीय राजदूतावासलाई पराजित गर्दै कामनाले पहिलो पटक उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै कामनाले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिङ गर्दै ५४ रन मात्र बनाउन सक्यो।
भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए । कामनाका हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक/एक विकेट लिए ।
यस अघि कामनाले ५ ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो । कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए । सुरेश उप्रेतीले १३ रन बनाए। भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए।
त्यसअघि पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल 'ए' लाई १९ रनले पराजित गरेको थियो । यस्तै कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गरेको थियो।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी कामनाका हेमन्त श्रीवास्तव चुनिए । उनले यामाहाको मोटरसाइकल प्राप्त गरे ।
यस्तै उत्कृष्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली, उत्कृष्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना, उत्कृष्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी र उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए ।
फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो । प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे।
विजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्मा लगायतले पुरस्कृत गरे ।