काठमाडौं । भुटानमा जारी दोस्रो संस्करणको साफ यू-१५ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोली (बिहिबार) भारतको सामना गर्दैछ ।
साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्न लागेको हो ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३: ४५ मा सुरु हुनेछ ।
नेपाल र भारत मैदान प्रवेश गर्दा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछ । किनकी बिजेताले फाइनलमा स्थान बनाउने छन् ।
समूह बी मा रहेको नेपाल समूह उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत भने समूह ए को बिजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो खेलमा नेपालले पाकिस्तानलाई ४ - ० ले हराएको थियो । तर, नेपाल दोस्रो खेलमा बंगलादेशसंग ३ - ० ले पराजित भएको थियो ।
यस्तै प्रतियोगिताको अर्को सेमिफाइनलमा समूह बी को बिजेता बंगलादेशले समूह ए को उपबिजेता भुटानसंग खेल्ने छ ।