काठमाडौं । वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले दोस्रो संस्करणको हिमालय क्रिकेट लिग यू-१९ दुई दिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार हिमालय क्रिकेट एकेडेमी (एचसिए) लाई ७ विकेटले पराजित गर्दै जिएचसिएले सुखद सुरुवात गरेको हो ।
एचसिएले दिएको ६० रनको लक्ष्य जिएचसिएले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । जिएचसिएका कप्तान आशिफ शेखले अविजित रहदै ४१ रनको योगदान गरे । यस्तै आयुशमान बमले ९ तथा अशोक पौडेलले ७ रन बनाए ।
एचसिएका सन्दीप खडकाले २ र प्रतिश जिसीले १ विकेट लिए ।
यस अघि खेलको दोस्रो दिन १ सय ६४ रनले पछि परेको अवस्थामा आफ्नो दोस्रो इनिङ्स थालेको एचसिएले ७० ओभर १ बलमा अलआउट हुँदै २ सय ३५ रन बनायो । र, ५९ रनको अग्रतासहित जिएचसिएलाई ६० रनको लक्ष्य दिएको थियो ।
दोस्रो इनिङ्समा एचसिएका दिपक बोहराले ५३ रन बनाए । यस्तै टिमका लागि रजत तिमल्सिनाले ३७ , विराट भण्डारीले ३१ , गजेन्द्र बोहराले २२ तथा प्रतिश जिसिले २१ रन बनाएका थिए ।
जिएचसिए राशिद खानले ५ विकेट लिए । सोनु देवकोटा र अरियो पौडेलले समान २/२ विकेट लिए ।
यस अघि सोमबार टस हारेर पहिले ब्याटिङ गरेको एचसिएले ३४ ओभर १ बलमा अलआउट हुँदै १ सय ४४ रन बनाएको थियो ।
एचसिएका लागि रजत तिमल्सिनाले ८ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए । यस्तै सन्दीप शाहीले २३, गजेन्द्र बोहराले १६ , अम्रित थापाले १४ र भुमि सिंह कुवरले १६ रन बनाए ।
जिएचसिएका सोनु देवकोटाले ३ तथा राशिद खान र मोहम्मद हुसेनले समान २/२ विकेट लिए ।
एचसिएलाई सस्तैमा समेटेको जिएचसिएले आफ्नो पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३० रन बनाएको थियो । उसका कप्तान आसिफ शेखले शतक बनाए ।
जिएचसिए कप्तान आसिफले ९५ बलमा १७ चौका र १ छक्कासहित १०० रन बनाए । यस्तै जिएचसिएका लागि आयुश बस्नेतले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा आयुशमान बमले ५३ तथा अशोक बस्नेतले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । एचसिए सन्दीप शाहीले सर्वाधिक ४ विकेट लिए। कप्तान प्रतिश जिसीले २ तथा गजेन्द्र बोहरा र दिपक बोहराले पनि १/१ विकेट लिए ।
आयोजक हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा जारी प्रतियोगितामा बुधबारबाट बालुवाटार क्रिकेट एकेडेमी र ओसिस क्रिकेट एकेडेमीको खेल सुरु हुनेछ ।प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, व्याटसम्यान, बलर र उदयीमान खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।