काठमाडौं । १९ वर्ष मुनिको दुई दिवसीय क्रिकेट प्रतियोगिताको पहिलो दिन वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) का कप्तान आसिफ शेखले शतक बनाएका छन् ।
मुलपानी क्रिकेट मैदानमा सोमबार हिमालय क्रिकेट एकेडेमी (एचसिए) विरुद्ध आसिफले १०० रनको शतकीय इनिङ्स खेलेका हुन् ।
एचसिएलाई १ सय ४४ रनमा अलआउट गर्दै आफ्नो पहिलो इनिङ्समा जिएचसिए कप्तान आसिफले ९५ बलमा १७ चौका र १ छक्कासहित १०० रन बनाए । कप्तान आसिफको शतकमा जिएचसिएले पहिलो इनिङ्समा ६० ओभरमा अलआउट हुँदै ३ सय ३० रन बनाएको छ ।
जिएचसिएका लागि आयुश बस्नेतले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा आयुशमान बमले ५३ तथा अशोक बस्नेतले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । एचसिए सन्दीप शाहीले सर्वाधिक ४ विकेट लिए। कप्तान प्रतिष जिसीले २ तथा गजेन्द्र बोहरा र दिपक बोहराले पनि १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एचसिएले ३४ ओभर १ बलमा अलआउट हुँदै १ सय ४४ रन बनाएको थियो ।
एचसिएका लागि रजत तिमल्सिनाले ८ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए । यस्तै सन्दीप शाहीले २३, गजेन्द्र बोहराले १६ , अम्रित थापाले १४ र भुमि सिंह कुवरले १६ रन बनाए ।
जिएचसिएका सोनु देवकोटाले ३ तथा राशिद खान र मोहम्मद हुसेनले समान २/२ विकेट लिए ।
पहिलो दिन जिएचसिए पनि अलआउट भएपछि एचसिएले आफ्नो दोस्रो इनिङ्स थालेको छ । पहिलो दिनको खेल सकिदा एचसिएले १२ रन बनाएको छ ।
आयोजक हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, व्याटसम्यान, बलर र उदयीमान खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।