एजेन्सी । क्रोएसियाका फरवार्ड मारियो मान्जुकिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । रुस विश्वकपको उपविजेता टोलीका सदस्य मान्जुकिचले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
इटालियन क्लब युभेन्ट्सका फरवार्ड मान्जुकिचले सामाजिक संजाल इन्स्ट्राग्रामबाट सन्यास घोषणा गरेका हुन् । राष्ट्रिय टिमबाट ११ बर्ष बिताएका मान्जुकिचले विश्वकपमा उपविजेता बन्नु आफ्नो लागि ठुलो सफलता रहेको तर यो समय सन्यास लिने रहेको बताएका छन् ।
३२ बर्षीय मान्जुकिचले भनेका छन्, 'विश्वकपको रजत पदकले मलाई नयाँ उर्जा दिएको छ । तर, यो अविश्वसनीय यात्राले मेरो कठिन निर्णयलाई सजिलो बनाएको छ । हामीले हाम्रो सपना साकार बनायौ । ऐतिहासिक सफलता हात पार्यौ । अविश्वसनीय समर्थक पायौ । यो मेरो करियरको सबैभन्दा महत्वपूर्ण सम्झना रहने छ ।'
रुसमा गत महिना सम्पन्न विश्वकपमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा मान्जुकिचले महत्वपूर्ण भूमिका खेलेका थिए । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा मान्जुकिचले अन्तिम समयमा गोल गर्दै क्रोएसियालाई फाइनलमा पुर्राएका थिए । तर, फाइनलमा क्रोएसिया फ्रान्ससंग ४ – २ ले पराजित भएको थियो ।
सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका मान्जुकिचले ८९ खेलमा ३३ गोल गरेका थिए ।