एजेन्सी । दक्षिण अफ्रिकाका प्रशिक्षक मार्क बाउचरले पूर्व कप्तान एबी डि भिलियर्सलाई आईसीसी टी-ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाको टिममा देख्न सकिने बताएका छन् ।
प्रशिक्षक बाउचरले विश्वकप अघिसम्म उत्कृष्ट लयमा देखिए सन्यास घोषणा गरिसकेका डि भिलियर्सलाई टिममा राखिने बताएका हुन् ।
इंग्ल्यान्डविरुद्धको टी- ट्वान्टी सिरिज गुमाएपछि बोल्दै बाउचरले विश्वकपमा उत्कृष्ट टिम पठाउने जानकारी दिदै डि भिलियर्स तयार र इच्छुक भएका विश्वकप टिममा हुने बताए ।
'यदि एबी राम्रो लयमा छ । ऊ खेल्न चाहन्छ र हामीले बोलाएको समयमा उपलब्ध हुन्छ भने ऊ कामका लागि राम्रो मान्छे हो । ऊ जानु पर्छ,' बाउचरले भने, 'यो अहंकार वा कुनै कुराको बारेमा होईन । यो विश्वकपमा उत्कृष्ट टिम पठाउनको लागि हो र प्रतिस्पर्धा जित्नको लागि हो ।'
आईसीसी टी-ट्वान्टी विश्वकप आगामी अक्टोबरमा अष्ट्रेलियामा हुँदैछ । र, उक्त विश्वकप खेल्ने डि भिलियर्सले इच्छा व्यक्त गरिरहेका छन् । उनले आफुले राष्ट्रिय टिमका लागि सन्यास फिर्ता लिने समेत बताईसकेका छन् ।
डि भिलियर्सले सन् २०१८ को मेमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । उनी फ्रेन्चाइज क्रिकेट भने खेलिरहेका छन् । राष्ट्रिय टिममा उनको पुनरागमन भने भारतमा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को प्रदर्शनले निर्धारण गर्ने छ ।
तर, प्रशिक्षक बाउचरले टिममा फर्कने विषयमा डि भिलियर्सले आफुसँग छलफल नगरेको बताए ।
'उहाँ मिडिया र सर्वसाधारणसँग छलफल गर्नुहुन्छ तर मसँग कुनै छलफल गर्नुहुन्न । मैले उहाँसँग कुराकानी गरेको छु र उनको बारेमा के हुन्छ शायद हामीलाई थाहा छ,' बाउचरले भने, 'मैले पहिलो दिनबाट भनेको थिएँ । जब हामी विश्वकपमा जाँदैछौँ । म हाम्रा सर्वश्रेष्ठ खेलाडीहरू त्यहाँ चाहन्छु।'