चितवन । अखिल नेपाल फुटबल संघ एन्फाले संघको विधान सशोधनको एजेण्डा विशेष साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।
चितवनको सौराहामा बसेको एन्फा कार्य समिति बैठकले संघको विधान सहित नियमावली परिमार्जनको एजेण्डा विशेष साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपले विधान संशोधनको एजेण्डा स्थगित गर्न गरेको आग्रह विपरीत एन्फाले विधान संशोधनको एजेण्डा विशेष साधारण सभामा लैजाने तयारी गरेको हो ।
‘विशेष साधारण सभानै विधान संशोधनकालागि डाकिएको हो । सोही कारण संघको विधान संशोधन एजेण्डा विशेष साधारण सभामा पेश हुन्छ ।’ बैठक स्रोतले खेलपाटीसंग भन्यो ।
राखेपले खेलकुद ऐन आउदै गरेको अवस्थामा तत्काल विधान संशोधनको प्रकृया रोक्न आग्रह गर्दै एन्फालाई पत्र पठाएको थियो । ऐन अनुसार संघको नियमावली र विधान परिवर्तन गर्नुपर्ने भएकाले तत्काल विधान संशोधन रोक्न आग्रह गरिएको राखेपले बताएको छ ।
तर एन्फाले चितवनको सौराहमा बुधबार बस्ने संघको विशेष साधारण सभामा विधान संशोधन सहितका एजेण्डा लैजाने निर्णय गरिएको छ ।
‘राखेपको पत्रलाई आत्मसाथ गर्दै भोलीको बैठकमा विधान संशोधन सहितका एजेण्डा लैजाने सहमती भएको छ ।’ एन्फा प्रवक्ता किरण राईले खेलपाटीसंग भने ।
प्रवक्ता राईका अनुसार भोलीको बैठकमा विधान संशोधन सहित आर्थिक तथा कर्मचारी नियमावली एजेण्डा समेत पेश हुनेछ । साधारण सभाले एन्फा सञ्चालन सम्बन्धि नियमावली समेत पारित गर्ने तयारी गरेको छ ।
एन्फाले संघलाई संघीय संरचना अनुसार अघि बढाउने उद्धेश्यले नयाँ नेतृत्वको निर्वाचन भएको ३ महिनामा विशेष साधारण सभामार्फत विधान संशोधन गर्न लागेको छ ।