काठमाडौं । १९ वर्ष मुनिको दुई दिवसीय क्रिकेट प्रतियोगिता हिमालयन क्रिकेट लिगको उद्घाटन खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) र हिमालय क्रिकेट एकेडेमी (एचसिए) भिड्ने भएका छन् ।
आयोजक हिमालय स्पोर्टस् म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उद्घाटन खेलमा जिएचसिए र एचसिए भिड्ने जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल मुलपानी क्रिकेट मैदानमा सोमबार (भोली) हुनेछ । जिएचसिए र एचसिए समूह 'बी' रहेका छन् । यस समूहमा नेक्सस क्रिकेट एकेडेमी समेत रहेको छ ।
अर्को समूहमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् ।
अर्कीड कलेजको मुख्य प्रायोजनमा चल्ने प्रतियोगिताको समूह विजेताले फाइनलमा खेल्ने छन् । फागुन १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, व्याटसम्यान, बलर र उदयीमान खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।