काठमाडौं । मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुआब्जा विवाद मिलेको छ । मुवाब्जा विवाद समाधान भएसंगै मुलपानी क्रिकेट मैदान दुई बर्षभित्र बन्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मैदानको मुआब्जा विवाद समाधानको लागि जग्गा धनीलाई साटो जग्गा उपलब्ध गराउने निर्णय गरेसंगै विवाद समाधान हुने भएको हो ।
सरकारको मन्त्रिपरिषद् स्तरीय बैठकले मुआब्जा विवाद समाधान गरेको र मन्त्रिपरिषद्को बैठकको निर्णयसंगै मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान दुई बर्ष भित्र बन्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशव कुमार बिष्टका प्रेस सल्लाहकार रोहित दाहालले खेलपाटीलाई जानकारी गराए ।
'मुआब्जा विवाद थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सट्टापट्टा गरेर जग्गा धनीलाई अर्को स्थानमा जग्गा दिने निर्णय गरेको छ,' प्रेस सल्लाहकार दाहालले भने, 'जग्गा धनीले खोजेको जति जग्गा अन्य ठाउमा उपलब्ध गराउने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । अब मैदान दुई बर्षभित्र तयार हुनेगरी अघि बढ्ने छ ।'
यसअघि मैदानभित्र रहेको करिब ५२ आना जग्गाको मुआब्जा विवाद नमिल्दा मैदान निर्माण कार्य रोकिएको थियो । र, विवाद समाधानको लागि मुलपानी क्रिकेट मैदान निर्माण समन्वय र सहजीकरण समितिले जग्गाको बदला जग्गा दिनु पर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय जग्गा धनीले समेत स्विकार गरेका थिए । तर, मन्त्रिपरिषदबाट पास नहुदा उक्त विवाद कायम रहेको थियो ।
सरकारले मैदानभित्र पर्ने जग्गा मैदान नजिकै रहेको अर्को स्थानमा दिने निर्णय गरेको हो । अब जग्गा धनीले मैदानमा रहेको आफ्नो जग्गाको नाप अनुसारको जग्गा पाउने छन् ।