काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल लिस्ट 'ए' क्रिकेटमा ५० खेल पुरा गरेका छन् ।
विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को चौथो खेलमा बुधबार अमेरिकासँग मैदान उत्रदै कप्तान मल्लले ५० लिस्ट 'ए' मा ५० खेल पुरा गरेका हुन् ।
यससँगै कप्तान मल्लले लिस्ट 'ए' मा सर्वाधिक खेल खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् ।
लिस्ट 'ए' क्रिकेटमा नेपलको लागि सर्वाधिक खेल खेल्ने खेलाडी मल्लले १ हजार १ सय ४७ रन बनाएका छन् । उनले लिस्ट 'ए' ६ अर्धशतक समेत प्रहार गरेका छन् । सर्वाधिक खेल खेले पनि मल्ल लिस्ट 'ए' मा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् ।
मल्ल भन्दा अघि पूर्व कप्तान पारस खड्का रहेका छन् । पारसले ४३ लिस्ट 'ए' खेलमा ३ शतक र ९ अर्धशतक सहित १ हजार ४ सय ७७ रन बनाएका छन् । जुन नेपाली खेलाडीले लिस्ट 'ए' मा बनाएको सर्वाधिक रन हो । पारस लिस्ट 'ए' मा हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।
लिस्ट 'ए' सर्वाधिक रन बनाउने तेस्रो खेलाडी शरद भेषवाकर हुन् । उनले ३६ लिस्ट 'ए' मा १ हजार ३० रन बनाएका छन् ।
यस्तै लिस्ट 'ए' मा सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका सोमपाल कामी रहेका छन् । ४५ लिस्ट 'ए' मा सोमपाल ले ६५ विकेट लिन सफल भएका छन् ।
एकदिवसीय अन्तराष्ट्रिय मान्यता नपाएका राष्ट्रले खेल्ने ५० ओभरको अन्तराष्ट्रिय खेललाई लिस्ट 'ए' क्रिकेटको रुपमा लिने गरिन्छ । यस्तै अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को मापदण्ड पुरा गरे घरेलु ५० ओभरको क्रिकेटले समेत लिस्ट 'ए' को मान्यता पाउने प्राबधान छ ।
हालसम्म नेपालले घरेलु क्रिकेटको लिस्ट 'ए' संरचान बनाउन सकेको छैन । नेपाल हालसम्म अन्तराष्ट्रिय खेललाइ मात्र लिस्ट 'ए' को रुपमा खेल्दै आएको छ ।
यस्तै एकदिवसीय अन्तराष्ट्रिय खेललाई समेत लिस्ट 'ए' खेलमा गनिने गर्छ भने लिस्ट 'ए' लाई एकदिवसीय अन्तराष्ट्रिय खेल मानिंदैन ।