काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को चौथो खेलमा आज (बुधबार) नेपालले अमेरिकासँग खेल्दैछ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा दोस्रो पटक खेल्न लागेका हुन् ।
दुवै टोली जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छन् ।
पहिला खेलमा नेपालसंग अमेरिका ३५ रनले पराजित भएको थियो ।
अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेको छैन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो ।
यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ ।
नेपाल दुवै पटक ओमानसंग पराजित भएको छ ।
पहिलो खेलमा १८ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो ।
ओमान भने सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
कुशलसंग अपेक्षा
अमेरिकासंगको पहिलो खेलमा नेपालका युवा खेलाडी कुशल मल्लले डेब्यु गरेका थिए । सो खेलमा उनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले ।
४९ रन बनाउँदा ५ विकेट गुमेको नेपालको लागि छैठौं र सातौं स्थानमा ब्याटिङ गर्न आएका कुशल र विनोद भण्डारीले नेपाली इनिङ्स उकासेका थिए ।
दुई खेलाडीले ८४ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए ।
कुशलले ५१ बलमा ५ चौका र ३ छक्का सहित कीर्तिमानी ५० रन बनाए । एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक प्रहार गर्ने कुशल सबै भन्दा कम उमेरका खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तिमान भंग गरेका थिए ।