एजेन्सी । स्पेनको विश्वकप बिजेता टोलीका सदस्य डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर सिल्भाले एक प्रेस विज्ञप्ति निकाल्दै सन्यासको घोषणा गरेका हुन् ।
राष्ट्रिय टोलीबाट सन्यासको घोषणा सिल्भाले स्पेनिस टोलीबाट पाएको सफलतामा गर्व रहेको र करियर कै कठिन निर्णय लिएको बताए ।
'मैले यो निर्णय गर्न एक हप्ता समय लगाए । राष्ट्रिय टोलीले मलाई धेरै दिएको छ, एक खेलाडी र एक व्यक्तिको रुपमा अघि बढ्न,' सिल्भाले भनेका छन्, 'टिमको साथ थियो र सपना देखेको थिए । म सधै सम्झिरहने छु । मेरोलागि यो सहज छैन तर मैले सबै अनुभव गरे । त्यसैले यो लेख्दै छु ।'
स्पेनले सन् २०१० को विश्वकप जित्दा सिल्भा मुख्य खेलाडी थिए । यस्तै २००८ र २०१२ को युरोकप जित्दा पनि सिल्भा महत्वपूर्ण खेलाडी रहेका थिए ।
सन् २००६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३२ बर्षीय सिल्भाले स्पेनबाट १२५ खेल खेलेका छन् ।