काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा ओमानले शतप्रतिशत नतिजा निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार अमेरिकालाई ९२ रनले हराउँदै ओमान ४ खेलमा ४ जित निकाल्दै सिरिजमा अपराजित रहेको हो । चौंथो खेल जितेसँगै ओमानले त्रिकोणात्मक सिरिजमा समेत कब्जा जमाएको छ ।
ओमानले दिएको २ सय ७७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो ।
अमेरिकाका लागि निसर्ग पटेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै आरोन जोन्सले अविजित ४७ रन जोड्दा इयान होल्याण्डले २८ रन बनाए । यस्तै जेभियर मार्शलले २३ र रुस्टी थेरनले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
अमेरिकालाई सस्तैमा समेट्न ओमानका बिलाल खान र अकिब अयासले समान ३/३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।
ओमानको उच्च योगफलमा कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतकीय इनिङ्स खेले । मध्यम सुरुवात गरेको ओमानका लागि दुवैले तेस्रो विकेटका लागि २ सय १६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
मक्सुदले १ सय ९ रनको शतकीय इनिङ्स खेले । १ सय ३ बलमा शतक बनाएका उनले १०९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । उनको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो ।
यस्तै अकिबले १ सय २३ बलमा १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । उनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । उनले यस अघि नेपालसँगको खेलमा पनि शतक बनाएका थिए ।
अमेरिकाका सौरभ नेत्राभाल्कर र रुस्टी थेरनले ३/३ विकेट लिए ।
जितसँगै लिगको शीर्ष स्थानमा रहेको ओमानले १० खेलमा १६ अंक जोडेको छ । अमेरिका ११ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस सिरिजमा अमेरिका जितविहीन रहेको छ । सिरिजको अन्तिम खेलमा अमेरिकाले बुधबार नेपालसँग खेल्नेछ ।
सिरिजको पहिलो भेटमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । लिगको ३ खेलमा २ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ ।