एजेन्सी । भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली न्युजिल्याण्डले क्लिन स्विप गरेको छ ।
माउन्ट माउन्गानुइमा मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
भारतले दिएको २ सय ९७ रनको लक्ष्य न्युजिल्याण्डले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको सहज जितमा तीन खेलाडीले अर्धशतक पुरा गरे ।
उसको हेनरी निकोलसले सर्वाधिक ८०, मार्टिन गप्टिलले ६० र कोलिन डी ग्राण्डहोमए ५८ रनको अविजित अर्धशतकीय इनिङ्स खेले ।
यस्तै टम लाथमले अविजित ३२, कप्तान केन विलियाम्सन २२ रनको योगदान गरे । भारतका युजभेन्द्र चाहलले ३ तथा सर्दुल ठाकुर र रबिन्द्र जडेजाले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो । भारतका लोकेश राहुलले शतकीय इनिङ्स खेले । राहुलले ९ चौका र २ छक्काको मद्दतमा १ सय १२ रन बनाए ।
यस्तै श्रेयस आयरले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ४२ र पृथ्वी शले ४० रनको योगदान गरे । न्युजिल्याण्डका हमीस बन्नेटले ४ विकेट लिए ।
यसअघि ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज भने भारतले क्लिन स्विप गरेको थियो ।