काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अहिले ओमान र अमेरिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ओमानले दिएको २ सय ७७ रनको फराकिलो लक्ष्यसहित अमेरिका जवाफी ब्याटिङ गरिरहेको छ ।
ओमानविरुद्ध फराकिलो लक्ष्य पछ्याएको अमेरिकाले खराब सुरुवात गरेको छ । अमेरिकाले २० ओभरको खेल सकिदा ५ विकेट गुमाएर मात्र ८३ रन जोडेको छ ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।
ओमानको उच्च योगफलमा कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतकीय इनिङ्स खेले । मध्यम सुरुवात गरेको ओमानका लागि दुवैले तेस्रो विकेटका लागि २ सय १६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
मक्सुदले १ सय ९ रनको शतकीय इनिङ्स खेले । १ सय ३ बलमा शतक बनाएका उनले १०९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । उनको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो ।
यस्तै अकिबले १ सय २३ बलमा १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । उनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । उनले यस अघि नेपालसँगको खेलमा पनि शतक बनाएका थिए ।
अमेरिकाका सौरभ नेत्राभाल्कर र रुस्टी थेरनले ३/३ विकेट लिए ।