काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अहिले ओमान र अमेरिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ओमानले अमेरिकालाई जितका लागि २ सय ७७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनायो ।
ओमानको उच्च योगफलमा कप्तान जिशन मक्सुद र अकिब इल्यासले शतकीय इनिङ्स खेले । मध्यम सुरुवात गरेको ओमानका लागि दुवैले तेस्रो विकेटका लागि २ सय १६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
मक्सुदले १ सय ९ रनको शतकीय इनिङ्स खेले । १ सय ३ बलमा शतक बनाएका उनले १०९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । उनको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो ।
यस्तै अकिबले १ सय २३ बलमा १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । उनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । उनले यस अघि नेपालसँगको खेलमा पनि शतक बनाएका थिए ।
अमेरिकाका सौरभ नेत्राभाल्कर र रुस्टी थेरनले ३/३ विकेट लिए ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
सिरिज अन्तर्गत ओमानले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
लिगमा ओमान ९ खेलमा ७ जित सहित १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । अमेरिका १० खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
७ राष्ट्र सहभागी लिग–२ मा हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । शीर्ष ३ मा रहने राष्ट्रले सिधै सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् ।