काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो सिरिज खेल्न नेपाल आएका ओमान र अमेरिका आज (मंगलबार) पुन भिड्दैछन् ।
खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
यसअघि दुवै टिमले दुई सिरिज खेलिसकेका छन् ।
ओमान ९ खेलमा ७ जित सहित १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । अमेरिका १० खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
ओमानले भने दोस्रो सिरिजको दुई खेल गुमाएको थियो । उसले राजाको निधनका कारण दोस्रो सिरिजको अन्तिम २ खेल खेलेको थिएन ।
नेपाल आएका दुवै टिमको लक्ष्य सबै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहनु हो ।
नेपाल भ्रमणमा ओमानले तीन खेल खेलिसकेको छ । अमेरिकाको भने तेस्रो खेल हुनेछ ।
ओमानले घरेलु टोली नेपाललाई पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो ।
ओमानले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । अमेरिकाले भने नेपाल भ्रमणमा कुनै जीत निकाल्न सकेको छैन ।
मंगलबार अमेरिका र ओमान दुवै टिम जित निकाल्ने लक्ष्य सहित मैदान प्रवेश गर्ने छन् । दुवै टिम गत वर्ष भएको डिभिजन २ मा एकदिवसीय मान्यता पाएपछि लिग–२ का लागि छनोट भएका थिए ।
७ राष्ट्र सहभागी लिग–२ मा हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । शीर्ष ३ मा रहने राष्ट्रले सिधै सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् ।