काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गठन गरेको मोनिटरिङ कमिटिका सदस्यहरु नेपाली क्रिकेटमा देखिएको गतिरोध हटाउन सहमत भएको छन् ।
आईसीसीका प्रतिनिधि सहित काठमाडौंमा सोमबार बसेको मोनिटरिङ कमिटिको बैठकले नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा गर्ने दिशामा गतिविधि अघि बढाउने सहमती गरेको हो ।
कमिटि सदस्य एलबी क्षेत्रीले पक्ष र विपक्षमा नलागेर क्रिकेट विवाद समाधानमा सबै जना सकारात्मक भएको खेलपाटीलाई बताए ।
‘करिब ६ महिना भित्र क्रिकेट विवाद समाधन गर्ने गरि काम अघि बढाउने सहमति जुटेको छ । छिटो भन्दा छिटो निलम्बन फुकुवा गरेर क्रिकेटको संरचना खडा गर्ने बिषयमा सबै सदस्य सहमत छन् ।’ उनले भने ।
नेपाली क्रिकेटको विवादमा समाधानमा आवश्यक गृहकार्य गर्न मोनिटरिङ कमिटिको २ दिने बैठक काठमाडौंमा सुरु भएको हो ।
बैठकमा नेपाली क्रिकेटका थाँती रहेका मुद्धालाई सहमतीबाटै किनारा लगाउने बिषयमा सहमती जुटेको छ । क्यानको निर्वाचित कमिटिले अदालतमा दायर गरेको मुद्धालाई फिर्ता लिने र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको तदर्थ कमिटिलाई समेत भंंग गर्ने गरि अघि बढ्ने बिषयमा कमिटि सदस्य एकमत देखिएका छन् ।
यसअघि, आईसीसीले गठन गरेको सल्लाहकार समुहले तयार पारेको विधानमा आधारित रहेर जिल्ला निर्वाचनको प्रमाणीकरण गर्ने र छिटो भन्दा छिटो नेपालमा क्रिकेटको निर्वाचित संरचना खडा गर्ने बिषयमा सदस्यहरुले धारणा राखेका थिए ।
बैठकमा आईसीसी प्रतिनिधि इमरान ख्वाजाले आफुहरु नेपालमाथिको निलम्बन चाँडो भन्दा चाँडो हटोस भन्ने पक्षमा रहेको बताएका थिए ।
‘नेपालको निलम्बन फुकुवा होस र नेपालले आईसीसीले उपलब्ध गराउने स्रोतको अधिकतम प्रयोग गरोस भन्ने पक्षमा हामी छौ ।’ ख्वाजाको भनाई उद्धित गर्दै बैठकका एक सदस्यले भने, ‘नेपालमा क्रिकेटको गतिविधि बढोस र आईसीसीले उपलब्ध गराउने रकमको अधिकतम उपयोग होस भन्ने हाम्रो चाहाना हो ।’
बैठकमा सहभागि वकिलहरुले जिल्ला निर्वाचनको प्रमाणीकरणकालागि १० देखि १५ को समय आवश्यक पर्ने बताएका थिए ।