काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका सदस्यले एक खेल बराबर ५ हजार रुपैयाँ म्याच फि पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को मुख्यालय नक्सालमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले एकदिवसीय अन्तर्राष्ट्रिय र टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीलाई ५ हजार म्याच फि दिने निर्णय गरेको हो ।
क्यानले २०२० को जनवरीबाट लागु हुनेगरि ५ हजार दिने निर्णय गरेको जनाएको छ ।
यस्तै राष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरणको लागि समेत क्यानले एक समिति गठन गरेको छ ।
क्यानले खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको लागि कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा ३ सदस्य समिति गठन गरेको हो । समितिमा केन्द्रिय सदस्य अमितवीर पान्डे र दुर्गाराज पाठक रहेका छन् ।
समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणी र महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरेर संघलाई पेश गर्ने छन् । उनीहरुले आफ्नो श्रेणी अनुसार तलब पाउने छन् ।
यस अघि पुरुष खेलाडीले मात्र तलब पाउदै आएका थिए । अब भने महिला खेलाडीले पनि तलब पाउने भएका छन् ।
क्यानले चैतको तेस्रो साताबाट पुरुषको एकदिवसीय प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ ।