पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी– ट्वान्टी क्रिकेटले पोखरालाई स्पोर्ट्स सिटी बनाउने अवधारणामा कोशेढुंगा बन्ने बताएका छन् ।
पीपीएल क्रिकेटका आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बि लामासहितको एक टोलीसंगको भेटमा मुख्यमन्त्री गुरुङले प्रतियोगिताले क्रिकेट विकासमा थप सहयोग पुग्ने बताउदै प्रदेश सरकारको पूर्ण रुपमा सहयोग रहेने बताए ।
आफु क्रिकेट खेलको समर्थक रहेको बताउदै गुरुङले भने, 'तपाईहरुको यो कार्यलाई हृदयबाट धन्यवाद । पोखरालाई स्पोर्ट्स सिटीको रुपमा विकास गर्ने अवधारणा अघि बढेको छ । यो प्रतियोगिताले उक्त अवधारणाको लागि कोशेढुंगा साबित हुनेछ ।'
भेटमा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका थिए । भेटमा मुख्यमन्त्री गुरुङले नेपाली क्रिकेटले नयाँ उचाई लिइरहेको उल्लेख गर्दै नेपाली टोलीले ऐतिहासिक एकदिवसीय क्रिकेटमा जित हासिल गरेकोमा बधाई तथा शुभकामना दिएका थिए । उनले नेपालको खेल
यस्तै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले यो प्रतियोगिताले पोखराको स्पोर्ट्स टुरिजममा नयाँ आयाम थप्ने बताईन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले प्रतियोगिताको लागि सहयोग रहने बताईन् ।
'सरकारले स्पोर्ट्स टुरिजमको अवधारणा अघि सारेको छ । यो प्रतियोगिता स्पोर्ट्स टुरिजमको लागि नयाँ आयाम हुनेछ, सफलताको शुभकामना छ र हाम्रो पूर्ण सहयोग रहनेछ,' मन्त्री पुनले भनिन् ।
त्यस्तै गण्डकी प्रदेश सांसद तथा नेपाल क्रिकेट संघ क्यानका पुर्व कावा अध्यक्ष दिपक कोइरालाले यो प्रतियोगिताले क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिने बताए ।
गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति समेत रहेका कोइरालाले भने, 'पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको लागि एक स्थल बनाउन सकिन्छ । प्रदेशको मुख्यमन्त्री पनि यो बिषयमा लागि पर्नु भएको छ । हामीलाई यो ठाउमा क्रिकेट बिकासको लागि नयाँ तरङ्ग आवश्यक थियो । यो प्रतियोगिताले हामीलाई त्यो तरङ्ग पैदा गरेको छ । यसले त्यो आवश्यकता पुरा गर्छ ।'
पहिलो संस्करणको पीपीएल क्रिकेट आगामी कार्तिक दोस्रो साताबाट सुरु हुँदैछ । कार्तिक ९ देखि २० सम्म संचालन हुने प्रतियोगिताको लागि हाल मैदान निर्माण कार्य तीव्र गतिमा भईरहेको छ ।