एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरीयतामा शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार निकालेको नयाँ वरीयतामा कोहली शीर्ष स्थानमा कायम रहेका हुन् । आईसीसीले निकालेको नयाँ वरीयतामा कोहलीले ९११ अंक प्राप्त गरेका छन् ।
कोहलीले पाकिस्तानी ब्याट्सम्यान बाबर अजमलाई पछि पार्दै शीर्ष स्थानमा कायम रहेका हुन् । वरीयताको दोस्रो स्थानमा रहेका अजमले ८२५ अंक प्राप्त गरेका छन् । कोहली टेष्ट क्रिकेटको ब्याट्सम्यानतर्फ पनि शीर्ष स्थानमा रहेका छन् ।
यस्तै इंग्ल्यान्डका जोय रुट्स ८१८ अंक जोडेर तेस्रो स्थानमा रहदा ८०६ अंकसहित भारतका रोहित शर्मा चौथो र ८०३ अंक जोडेर अष्ट्रेलिया पुर्व उपकप्तान डेभिड वार्नर पाँचौ स्थानमा रहेका छन् ।
नयाँ वरीयतामा न्युजिल्यान्डका रोज टेलर, दक्षिण अफ्रिकाका क्विनटन डी कक, न्युजिल्यान्डका केन विलियमसन, भारतका शिखर धवन र इंग्ल्यान्डका जोनी ब्रईस्टो छैटौंबाट क्रमश दशौं स्थानसम्म रहेका छन् ।
एकदिवसीय क्रिकेटको बलिङतर्फ भारतका जस्प्रित बुम्राह शीर्ष स्थानमा यथावत रहेका छन् । उनले ७७५ अंक पाएका छन् । बलिङतर्फ दोस्रो स्थानमा रहेका अफगानिस्तानका रासिद खानले ७६३ अंक जोडेका छन् भने पाकिस्तानका हसन अली ७४२ अंकसहित तेस्रो स्थानमा छन् । न्युजिल्यान्डका ट्रेन्ड बोल्ट चौथो र अष्ट्रेलियाका जोस हाजलवुड पाँचौ स्थानमा रहेका छन् ।
आईसीसीले निकालेको नयाँ वरीयताको अलराउण्डरतर्फ बंगलादेशका शकिब अल हसन शीर्ष स्थानमा रहदा अफगानिस्तानका मोहमद नाबी दोस्रो स्थानमा छन् ।
त्यस्तै पाकिस्तानका मोहमद हाफिज तेस्रो, न्युजिल्यान्डका मिचेल स्टाननर चौथो र श्रीलंकाका एन्जेलो म्याथ्युज पाँचौ स्थानमा रहेका छन् ।
एकदिवसीय राष्ट्रको वरीयतामा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा रहेको छ । वरीयतामा दक्षिण अफ्रीका चौथो र पाकिस्तान पाँचौ स्थानमा रहेका छन् ।