काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विवाद समाधानको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको मोनिटरिङ कमिटिको बैठक सुरु भएको छ।
क्रिकेट विवाद समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउन आईसीसीले गठन गरेको कमिटिको बैठक राजधानीको सोल्टी होटलमा सुरु भएको हो । बैठकले नेपालको क्रिकेट विवाद समाधानको आवश्यक उपायको खोजी गर्नेछ ।
बैठकमा आईसीसीका तीन, राष्ट्रिय खेलकुद परिषद राखेपबाट एक र निर्वाचित क्यानका एक जना प्रतिनिधि रहेका छन् । कमिटिमा राखेपबाट एलबी क्षेत्री, क्यानको निर्वाचित समितिबाट रइस थापा, आईसीसीबाट मोहम्मद अली, अमर शेख र नितिश कोठारी रहेका छन् ।
मोनिटरिङ कमिटिको बैठकले सल्लाहकार कमिटि र आईसीसीबीच भएको सहमती र परिमार्जित विधानमा आधारित रहेर क्रिकेट विवाद समाधानको काम अघि बढाउनेछ । र, नेपाली क्रिकेटमा थाँति रहेका विवादका बिषयमा छलफल केन्द्रित हुनेछ ।
मुख्य त निर्वाचित भनिएको क्यानले अदालतमा दायर गरेको मुद्दा फिर्ता र सरकारले गठन गरेको तदर्थ कमिटि भङ् गर्ने नगर्ने बिषयमा समेत बैठकमा छलफल हुने छ । यस्तै बैठकमा यसअघि भएका जिल्ला निर्वाचनको प्रमाणीकरणका बिषयमा समेत छलफल हुनेछ ।
क्यानको निर्वाचित कमिटिले निर्वाचन भएका ३६ जिल्लालाई मान्यता दिनुपर्ने धारणा राखेका थिए । तर, आईसीसीले क्यानको नयाँ विधान अनुसार निर्वाचन भएका जिल्लालाई मात्र मान्यता दिन सकिने गरि सहमती खोजेको थियो । आजको बैठकले जिल्लाले प्रमाणीकरणका लागि पेश गरेका कागजातलाई मान्यता दिने÷नदिने बिषयमा समेत आवश्यक छलफल गर्नेछ ।
पछिल्लो समय मोनिटरिङ कमिटिको बैठक बस्न नसक्दा क्रिकेट विवाद समाधानमा ढिलाई भईरहेको थियो । क्यानको परिमार्जित विधान अनुसार नयाँ नेतृत्व आएपछि आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्ने बताउदै आएको छ ।
आईसीसीले गठन गरेको सल्लाहकार समितिले तयार गरेको विधानलाई निर्वाचन कमिटिले जस्ताको त्यस्तै पारित गर्ने सहमति बनेको थियो । तर, गत बर्ष भदौमा बसेको क्यानको साधारण सभाले विधानका केही बुँदा हेरफेर गरेपछि त्यसलाई मान्यता दिएको थिएन ।
त्यसपछि क्यान विवाद समाधान गर्न आईसिसीले आफु सम्मिलित पाँच सदस्यीय मोनिटरिङ कमिटि गठन गरेको थियो । र, आईसीसीले गठन गरेको सल्लाहकार समितिले नेपाल क्रिकेट संघ क्यानको नयाँ विधान तयार गरेको थियो । सोही विधान अनुसार संक्रमणकालीन क्रिकेटको समाधान गर्न मोनिटरिङ कमिटि गठन भएको थियो ।