काठमाडौं । भुटानमा जारी दोस्रो संस्करणको साफ यू-१५ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज (सोमबार) बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ हुनेछ । यो खेलले समूह बी को बिजेता र उपबिजेता तय गर्नेछ ।
पहिलो खेलमा पाकिस्तानलाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसंग खेल्न लागेको हो । यस्तै बंगलादेश पनि सेमिफाइनलमा पुगिसकेको छ ।
साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित भुटान पुगेको नेपाल आज बंगलादेशलाई हराएर समूह बिजेता बन्न चाहन्छ । तर, बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने देखिन्छ ।
नेपालले पहिलो खेलमा पाकिस्तानलाई ४ - ० ले हराएको थियो । बंगलादेशले भने पाकिस्तानलाई १४ - ० ले हराएको थियो । पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ ।