एजेन्सी । रोबर्टो लेवान्डोस्की नायक बन्दा वायर्न म्युनिखले लगातार तेस्रो पटक जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा एनट्रयाच फ्रान्कफर्टलाई ५ - ० गोलको फराकिलो अन्तरले हराउदै वायर्नले उपाधिमा कब्जा जमाएको हो ।
अघिल्ला दुई सिजनको बिजेता वायर्नलाई यो सिजन उपाधि जित्न कठिनाई बेहोर्नु परेन । सहज जितसंगै वायर्नले सिजनको पहिलो उपाधिको रुपमा जर्मन सुपर कपलाई घर भित्राएको छ ।
वायर्न जितमा पोल्याण्डका २९ बर्षीय लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । यस्तै किङ्स्ले कोम्याम र थियागो अल्कान्टाराले एक एक गोल गरे । घरेलु टोली फ्रान्कफर्टविरुद्ध वायर्नले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ३ गोल गरेका थिए ।
पहिलो हाफको २१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै खेलको २६ औं लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा वायर्न २ - ० ले अघि रह्यो ।
दोस्रो हाफको ५४ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै लेवान्डोस्कीले सिजनको पहिलो ह्याट्रिक पुरा गरे । खेलको ६३ औं मिनेटमा कोम्यानले गोल गर्दै वायर्नको अग्रता ४ - ० को बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा अल्कान्टाराले गोल गर्दै वायर्नलाई ५ - ० को फराकिलो जित दिलाए ।