एजेन्सी । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।
लियोनल मेस्सीको कप्तानीमा पहिलो पटक मैदान उत्रिएको बार्सिलोनाले सिजनको पहिलो उपाधि उचाल्न सफल भएको छ । बार्सिलोनाले मेस्सीलाई हालै कप्तानको जिम्मेवारी दिएको थियो ।
बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टर स्टेगेन खेलको अन्तिम मिनेटमा पेनाल्टी बचाएपछि मोरक्कोमा भएको खेलमा सेभिया पराजित हुन पुग्यो ।
गत सिजनको कोपा डेल रे कपको उपविजेताको रुपमा सेभियाले सुपर कप खेल्न पाएको थियो । बार्साले गत सिजन ला लिगासंगै कोपा डेल रे कप समेत उचालेको थियो ।
खेलमा अग्रता सेभिल्लाले ९ औ मिनेटमा पाब्लो सर्बियाको गोलबाट लिएको थियो । तर ४२ औ मिनेटमा जेरार्ड पीकेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ७८ औ मिनेटमा उसमान डेब्बेलेले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए ।
खेलको अन्तिम समयमा सेभियाले पेनाल्टीको अवसर पायो । तर, गोलकिपर स्टेगेन नायक बन्दा बार्सिलोनाले उपाधि हात पार्यो । गोलकिपर स्टेगेनले सेभियाका एक पेनाल्टी बचाएपछि बार्सिलोनाले सिजन पहिलो उपाधि घर भित्राउन सफल भयो । स्टेगेनले खेलको अन्तिम समयमा सेभियाका विसिम बेन एड्डरको पेनाल्टी प्रहार बचाएका थिए ।
सुपर कपका पछिल्ला १० संस्करणमा बार्सिलोनाले ९ औ पटक भाग लिएको थियो । पहिलो पटक प्रतियोगिता एकै लेगमा सम्पन्न गरिएको थियो ।