काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको मोनिटरिङ कमिटिको बैठक आज बस्दैछ । क्रिकेट विवाद समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउन आईसीसीले आफु सम्मिलित पाँच सदस्यीय मोनिटरिङ कमिटि गठन गरेको थियो ।
काठमाडौंको एक होटलमा दिउँसो २ बजे बस्ने बैठकले क्रिकेट विवाद समाधानको आवश्यक उपायको खोजी गर्नेछ । यसअघि आईसीसीले गठन गरेको सल्लाहकार समितिले नेपाल क्रिकेट संघ क्यानको नयाँ विधान तयार गरेको थियो ।
सोही विधान अनुसार संक्रमणकालीन क्रिकेटको समाधान गर्न मोनिटरिङ कमिटिको परिकल्पना गरिएको थियो । आईसीसीका तीन, राष्ट्रिय खेलकुद परिषद राखेपबाट एक र निलम्बित क्यानका एक जना प्रतिनिधि रहने गरि पाँच सदस्यीय कमिटि गठन गरिएको थियो ।
कमिटिमा राखेपबाट एलबी क्षेत्री, क्यानको निर्वाचित समितिबाट रइस थापा, आईसीसीबाट मोहम्मद अली, अमर शेख र नितिश कोठारी रहेका छन् ।
मोनिटरिङ कमिटिले सल्लाहकार कमिटि र आईसीसीबीच भएको सहमती र परिमार्जित विधानमा आधारित रहेर क्रिकेट विवाद समाधानको काम अघि बढाउनेछ । काठमाडौंमा दुई दिन सम्म चल्ने बैठकमा नेपाली क्रिकेटमा थाँति रहेका विवादका बिषयमा छलफल केन्द्रित हुनेछ ।
निर्वाचित भनिएको क्यानले अदालतमा दायर गरेको मुद्धा र सरकारले गठन गरेको तदर्थ कमिटिको बिषयमा समेत बैठकमा छलफल हुने कमिटिका सदस्य एलबी क्षेत्रीले खेलपाटीलाई बताए ।
‘विधानले तोकेको अधिकार अनुसार क्रिकेट विवाद समाधानकालागि प्रयास गरिनेछ ।’ क्षेत्रीले भने, ‘क्रिकेटका हिजोदेखि थाति थाँति रहेका केही मुद्धा समेत रहेका छन् । जसमा छलफल गर्न आवश्यक देखिएको छ ।’
क्षेत्रीका अनुसार बैठकमा यसअघि भएका जिल्ला निर्वाचनको प्रमाणीकरणका बिषयमा समेत छलफल हुनेछ ।
‘परिमार्जित विधान अनुसार जिल्ला निर्वाचन सम्पन्न भएर प्रमाणीकरणकालागि कागजात पेश गरेका कमिटिमाथि आवश्यक छानविन गरेर निर्णय गर्ने तयारी छ ।’ क्षेत्रीले भने ।
क्यानको निर्वाचित कमिटिले निर्वाचन भएका ३६ जिल्लालाई मान्यता दिनुपर्ने धारणा राखेका थिए । तर, आईसीसीले क्यानको नयाँ विधान अनुसार निर्वाचन भएका जिल्लालाई मात्र मान्यता दिन सकिने गरि सहमती खोजेको थियो । सोही अनुसार मोनिटरिङ कमिटिले साउनको १० गते सार्वजनिक सूचना निकालेर निर्वाचन प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।
आजको बैठकले जिल्लाले प्रमाणीकरणका लागि पेश गरेका कागजातलाई मान्यता दिने÷नदिने बिषयमा समेत आवश्यक छलफल गर्नेछ ।
मोनिटरिङ कमिटिको बैठक बस्न नसक्दा क्रिकेट विवाद समाधानमा ढिलाई हुने संकेत देखिएको थियो । क्यानको परिमार्जित विधान अनुसार नयाँ नेतृत्व आएपछि आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्ने बताउदै आएको छ ।
आईसीसीले गठन गरेको सल्लाहकार समितिले तयार गरेको विधानलाई निर्वाचन कमिटिले जस्ताको त्यस्तै पारित गर्ने सहमति बनेको थियो । तर, गत बर्ष भदौमा बसेको क्यानको साधारण सभाले विधानका केही बुँदा हेरफेर गरेपछि त्यसलाई मान्यता दिएको थिएन ।
लगत्तै बैशाख ६ गते बसेको साधारण सभाले क्यानको विधान परिमार्जन सहित पारित गरेको थियो । त्यसलाई राखेपले स्विकृती प्रदान गरेपछि सोही विधान अनुसार मोनिटरिङ कमिटि गठन भएको हो ।