काठमाडौं । नेपालका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार ओमानसँगको खेलमा अर्धशतक बनाउँदै शरदले लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गरेका हुन् ।
टियु क्रिकेट मैदानमा शरदले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । टियुमा अर्धशतक बनाएसँगै शरदले ३७ खेलमा ८ अर्धशतकसहित १ हजार ३० रन पुरा गरे ।
यससँगै शरद नेपालको लागि लिस्ट ए खेलमा एक हजार रन पुरा गर्ने तेस्रो खेलाडी बने ।
यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले लिस्ट ए मा एक हजार रन पुरा गरेका थिए ।
पारस नेपालको लागि लिस्ट ए मा एक हजार रन पुरा गर्ने पहिलो खेलाडी हुन् । यस्तै ज्ञानेन्द्र दोस्रो खेलाडी हुन् ।
पारसले लिस्ट ए मा पारसले सन् २०१८ मा भएको आईसीसी विश्वकप छनोट प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा एक हजार रन पुरा गरेका थिए ।
पारसले ५३ लिस्ट ए खेलमा ९ अर्धशतक र ३ शतक सहित १ हजार ४ सय २० रन बनाएका छन् । उनी लिस्ट ए मा सर्वाधिक रन बनाउने नेपाली हुन् ।
यस्तै ज्ञानेन्द्रले ५ अर्धशतक सहित ४७ लिस्ट ए खेलमा १ हजार ७० रन बनाएका छन् ।