एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित निकालेको छ ।
ह्यामिल्टनमा बुधबार भएको पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ४ विकेटले पराजित गरेको हो ।
भारतले दिएको ३ सय ४८ रनको लक्ष्य न्युजिल्याण्डले ४८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
न्युजिल्याण्डको जितमा रोस टेलरले १ सय ९ रनको शतकीय इनिङ्स खेले । यस्तै हेन्री निकहोल्सले ७८ रन जोड्दा टम लाथमले ६९ रन बनाए । भारतका कुलदिप यादबले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४७ रन बनाएको थियो । उसका लागि श्रयस आयरले १ सय ३ रनको शतकीय इनिङ्स खेले । लोकेश राहुलले अविजित ८८ रन जोड्दा कप्तान विराट कोहलीले ५१ रन बनाए ।
न्युजिल्याण्डका टिम साउथीले २ विकेट लिए ।
यस जितसँगै न्युजिल्याण्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।