काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन् । विश्वकप क्रिकेट लिग २ अन्तर्गत घरेलु भूमिका हुने पहिलो सिरिजसंगै पटवालले नेपाली टिमको प्रशिक्षक छाड्ने भएका हुन् ।
करिब ८ महिनादेखि नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका पटवालले आईसीसीमा औपचारिक रुपमा राजीनामा पठाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको समयमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पटवालले कार्यकाल सकिन अझै ४ महिना बाँकी रहेको अवस्थामा तलब समस्याको कारण देखाउँदै पदबाट राजीनामा दिएको बुझिएको छ ।
गत जेठमा उनी मासिक ७ हजार अमेरिकी डलर पारिश्रमिकमा नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका थिए ।
१३ औ साग र विश्वकप छनोटलाई लक्षित गर्दै उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिईएको थियो ।
तर दुवै प्रतियोगितामा पटवालको नेतृत्व बिर्सनलायक रह्यो ।
त्रिकोणात्मक एकदिवसीय सिरिजपछि आफु प्रशिक्षकमा नरहने भन्दै पटवालले सिरिजको तयारीको क्रममा पोखरामा राष्ट्रिय टिमका खेलाडीलाई जानकारी गराएका थिए ।
’पोखरा क्याम्पमा नै उहाँ (पटवाल)ले राजीनामा दिन्छु भनेर जानकारी गराउनु भएको थियो ।’ पुर्व कप्तान पारस खड्काले खेलपाटीसंग भने, ’उहाँले सोचेरै निर्णय लिनु भएको होला, त्यो उहाँको व्यक्तिगत बिचार हो । त्यसलाई कोट्टाउनु राम्रो नहोला ।’
पटवाल नेपाली टिमको मुख्य प्रशिक्षक हुनुअघि राष्ट्रिय टिमको ब्याटिङ कन्सल्ट्याण्टका रुपमा काम गर्दै आएका थिए ।
पटवाल कन्सल्ट्याण्ट हुँदा नेपालले एकदिवसीय मान्यता पाएको थियो ।
सिरिजको मुखमा पटवालको राजीनामाको विषय बाहिर आएपनि त्यसले खेल र खेलाडीमा खासै असर नपार्ने पुर्व कप्तान खड्का बताउँछन् ।
’कुनै चिज स्थायी हुँदैन । टिममा प्रशिक्षक आउने जाने हुँदै गर्छ ।’ पारसले थपे, ’प्रशिक्षकले पनि यो कुरामा आज निर्णय लिनु भएको हैन । २ हप्ताअघि जानकारी गराउनु भएको थियो । कुरा मात्र नतिजाको छ । नतिजाको निकाल्नु जरुरी छ । आशा छ, सिरिजमा फरक पर्दैन र आफ्नो पक्षमा नतिजा ल्याउने प्रयास हुनेछ ।’
पटवाल मुख्य प्रशिक्षकमा आएपछि नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा खासै उपलब्धि हात पार्न सकेको थिएन । खासै राम्रो नतिजा देखाउन नसकेका पटवालको विकल्प खोज्ने बिषयमा क्यानले आन्तरिक छलफल समेत गरेको थियो ।
राखेप सदस्य सचिव रमेश कुमार सिलवालले क्रिकेट प्रशिक्षक पटवालको राजीनामाको पुष्टि गरे ।
उनले हप्ता दिन अघि आईसीसीले पटवालले राजीनामा दिएको बिषय आफुलाई जानकारी गराएको बताए ।
'हप्ता दिन अघि आईसीसीले पटवालको राजीनामा गरेको बिषय जानकारी गराएको थियो ।' सिलवालले भने, 'मौखिक राजीनामा आएको छ, के गरौ भन्ने कुरा आएको थियो । राजीनामा आएको हो भने स्विकृत गर्न भनेको छु ।'
सिलवालले पटवालले राखेपसंग एक बर्षको सम्झौता गरेको बताउँदै क्यान र आफुलाई राजीनामा बारे कुनै औपचारिक जानकारी नआएको उल्लेख गरेका छन् ।