काठमाडौं । नेपाली क्रिकेटर सागर पुन र आसिफ शेख रहेको टिम क्वालालम्पुरले मलेसियन प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा केवाङसान युनिभर्सिटीलाई ७ विकेटले हराएर क्वालालम्पुर च्याम्पियन बनेको हो ।
उपाधिसंगै क्वालालम्पुरले ९ हजार मलेसियन रिगेंट प्राप्त गरेको छ । उपविजेता केवाङसान युनिभर्सिटीले ४ हजार मलेसियन रिगेंट प्राप्त गर्यो ।
किनरारा ओभलमा केवाङसान युनिभर्सिटीले दिएको १०२ रनको लक्ष्य क्वालालम्पुरले २५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । क्वालालम्पुरको जितमा नेपालका आसिफले अविजित ३३ तथा सागरले १० रन जोडे ।
अघिल्ला दुई खेलमा शतक बनाएका सागर फाइनलमा भने सस्तैमा आउट भए । तर, सागर प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडी बने । प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान बनेका सागरले १० खेलमा ४५२ रन जोडे । सागरले ७ सय मलेसियन रिंगेट प्राप्त गरे । बलिङतर्फ सागरले ९ विकेट लिए । आसिफले कुल २१९ रन बनाए ।
यस्तै क्वालालम्पुरको लागि कप्तान अहमेद फैजले ४५ रन जोड्दा भिरणदिप सिंहले १५ रन जोडे । केवाङसान युनिभर्सिटीका मोइनुल इस्लामले २ तथा नाज्रिल रहमानले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केवाङसान युनिभर्सिटीले २६ ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । उसका लागि इमामुल मुस्ताकिमले २८, कप्तान फिक्री माक्रमले १२ तथा चे वान जलाटीले १० रन जोडे ।
केवाङसान युनिभर्सिटीलाई सस्तैमा समेट्न नेभिल कुमारा एक्लैले ४ विकेट लिए । यस्तै महमद हाफिज,पवनदिप सिंह र सायद अजिजले समान २/२ विकेट लिए ।
एकदिवसीय फर्म्याटको लिगको सेमिफाइनलमा क्वालालम्पुरले सिलानगोरलाई १२२ रनले हराएर फाइनलमा स्थान बनाएको थियो । यस्तै केवाङसान युनिभर्सिटीले मलेसियाली आर्मीलाई ३९ रनले हराएर क्वालालम्पुरसंगको भेट पक्का गरेको थियो ।