एजेन्सी । जापानका पुर्व मिडफिल्डर केइसुके होन्डा प्रशिक्षक बनेका छन् । होन्डालाई आइतबार कम्बोडियाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक पदमा नियुक्त गरेको छ ।
रुस विश्वकप लगत्तै सन्यास लिएका होन्डालाई कम्बोडियाले प्रशिक्षकसंगै म्यानेजर चयन गरेको हो । होन्डाले आइतबार कम्बोडिया फुटबल फेडेरेसनसंग सम्झौता गरेका छन् । रुसमा सम्पन्न फिफा विश्वकप खेलेका होन्डाले असार २० गते सन्यास घोषणा गरेका थिए ।
होन्डाले अब साउथ इष्ट एसियाका राष्ट्रले खेल्ने एएफएफ सुजुकी कपमा कम्बोडिया टिम हेर्ने बताईएको छ । एएफएफ सुजुकी कप आगामी नोभेम्बर ८ देखी डिसेम्बर १५ सम्म हुनेछ ।
जापान विश्वकपको प्रि- क्वाटरफाइनलबाट बाहिरिएपछि होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । जापानको लागि तीन पटक विश्वकप खेलेका होन्डाले रुस विश्वकप एक गोल गरेका थिए । होन्डाले जापानको लागि ९८ खेल खेल्दै ३७ गोल गरेका छन् ।
इटालियन क्लब एसी मिलानका ३२ बर्षीय पुर्व प्लेमेकर होन्डा यसै सिजनको लागि अष्ट्रेलियन क्लब मेलबर्न भिक्ट्रीमा अनुबन्धित भएका थिए । होन्डालाई रुसी क्लब सीएसकेए मस्कोबाट अष्ट्रेलियाका शीर्ष डिभिजन क्लब मेलबर्नले अनुबन्ध गरेको थियो ।