एजेन्सी । स्पेनिस ला लिगा क्लब सेभियाले स्पेनिस सुपर कपबाट हात झिक्ने चेतावनी दिएको छ । बार्सिलोनाले तीन भन्दा बढी गैर युरोपियन खेलाडी समावेश गरेको भन्दै सेभियाले प्रतियोगिता नखेल्ने चेतावनी दिएको हो ।
स्पेनिस फुटबल महासंघले गत शनिबार गैर युरोपेली खेलाडीलाई कुनै प्रतिबन्ध नभएको बताएको थियो । स्पेनिस लिगमा मात्र ३ गैर युरोपेली खेलाडी समावेश गर्न पाउनेछ प्रावधान छ । सोही प्रावधान स्पेनिस सुपर कपमा समेत लागु हुने भन्दै सेभियाले खेलाडीको नाममा असहमती जनाएको थियो ।
स्पेनिस ला लिगाको विजेता र कोपा डेल रेको विजेताले स्पेनिस सुपर कप खेल्ने गर्छन् । बार्सिलोनाले गत सिजन स्पेनिस लिगसंगै कोपा डेल रेको उपाधि उचालेको थियो । सेभियाले कोपा डेल रेको उपविजेताको रुपमा स्पेनिस सुपर कपमा मौका पाएको थियो ।
सेभियाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘सुपर कप सुरु हुन २४ अघि अगाडी स्पेनिस फुटबल महासंघको भनाईले सेभिया आश्चार्यचकित छ । धेरै गैर युरोपेली खेलाडीले दर्ताका लागि इच्छा देखाएका थिए । तर, नयाँ सिजनका लागि जारी गरिएको पछिल्लो नोटिसमा अपवाद बाहेक मात्र तीन खेलाडीलाई अनुमति दिईएको थियो ।’
बार्सिलोनाले अर्टुरो भिडाल, म्यालकम र अर्थर सहित ४ खेलाडीको नाम सुपर कपका लागि राखिएको थियो । जसमा डिफेन्डर मार्लोन पनि समावेश गरिएको थियो ।