काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।
आइतबार बिहान भएको खेलमा सन्दीपको टिम प्याट्रियट्सले ट्रिनबागो नाइट राइडर्सलाई ४२ रनले पराजित गरेको हो । प्याट्रियट्सले दिएको २०४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले पुरै २० ओभरमा ८ विकेट गुमाएर मात्र १६१ रन बनाउन सक्यो ।
ट्रिनबागोका केभीन कोपेरले अविजित ४२, डरेन ब्राभोले ४१ तथा कोलिन मुन्रोले ३५ रन जोडेपछि टोलीलाई जित दिलाउन सकेनन् । प्याट्रियट्सका कार्लोस ब्रेथवेथ,बेन कटिङ र स्टेभेनसन लेविसले समान २/२ विकेट लिए ।
यस्तै नेपालका सन्दीपले १ विकेट लिए । ३ ओभर बलिङ्ग गरेका सन्दीपले एक मेडनसहित १७ रन खर्चिए । यसअघि सन्दीपले डेब्यु खेलमा ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्याट्रियट्सले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर २०३ रन जोडेको थियो । प्याट्रियट्सका लागि देभोन थोमसले ५८ रन जोड्दा कार्लोस ब्रेथवेथले ४१ रन जोडे । यस्तै क्रिस गेलले ३५ रन बनाए ।