एजेन्सी । एभर्टनले बराबरीबाट इन्ग्लिश प्रिमियर लिग फुटबलमा नयाँ सिजनको सुरुवात गरेको छ ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा १० खेलाडीमा सिमित एभर्टनले वुल्भ्ससंग २ – २ गोलको बराबरी खेलेको हो ।
एभर्टनका लागि यसै सिजन क्लब आएका ब्राजिलियन विंगर रिचार्लीसनले दुवै गोल गरे । रिचार्लीसनले डेब्यु खेलमै दुई गोल गरेका हुन् । वुल्भ्सका रुबेन नेभेस र राउल जेमिनेजले एक एक गोल गरे ।
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको वुल्भ्सविरुद्ध दुई पटक लिएको अग्रता जोगाउन नसक्दा एभर्टनले बराबरीमा चित्त बुझाउनु परेको हो ।
खेलको १७ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाए । खेलको ४० औं मिनेटमा फिल जागिल्काले रातो कार्ड पाएपछि पहिलो हाफमै एभर्टन १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको ४४ औं मिनेटमा वुल्भ्सका नेभेसले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।
पहिलो हाफ १ – १ को बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो गोल गर्दै पुन एभर्टनलाई २ – १ को अग्रता दिलाए । तर, खेलको ८० औं मिनेटमा वुल्भ्सका जेमिनेजले गोल गरेपछि खेल २ – २ को बराबरीमा सकियो ।
यो बराबरीसंगै सिजनको पहिलो खेलमा एभर्टन र वुल्भ्सले एक एक अंक जोडेको छ ।